दैलेख ः दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ बर्सिया मानबहादुर रावल रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो ।
विद्युतका पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा आइतबार भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते हुनेहरूमा दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ बर्सिया कमारो रावल, ४८ बर्सिया दानबहादुर रावल, ६० बर्सिया छविलाल रावल, ३४ बर्सिया प्रेमबहादुर रावल र ३१ बर्सिया ललित खड्का रहेका छन् । दुर्घटनामा परी घाइते भएका पाँच जनामध्ये तीन जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको प्रहरी प्रमुख दाहालले बताए । अन्य दुई जनाको दुल्लु अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक कमल शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालक सहित सात जना सवार रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख दाहालले बताएका छन् ।






